राष्ट्रपतिको भूमिकामाथि प्रश्न- पुनः मुसिको भवः

१४ पुस, काठमाडौं । सबैलाई थाहा भएकै कुरा हो, राष्ट्रपति बन्नुपूर्व विद्यादेवी भण्डारी नेकपा एमालेकी उपाध्यक्ष थिइन् । राष्ट्रपति भइसकेपछि पदीय जिम्मेवारीका हिसाबले उनले एमाले छाडिन् । त्यसबेला जनताको स्वाभाविक अपेक्षा थियो- अब उनी पदले मात्रै होइन, प्रतिष्ठाले पनि कुनै दलविशेषको नभएर देशको अभिभावक बनुन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नी छोरीको विवाहमा निम्तो दिएर शीतलनिवासमा भित्र्याउन सफल भएकी राष्ट्रपति भण्डारीले सबै नेपालीको मन जित्ने अपेक्षा स्वाभाविकै थियो । आफ्नो कम्युनिष्ट पृष्ठभूमिलाई बिर्सेर उनले पशुपतिनाथलगायत मठमन्दिरमा पूजाआजा गरेर सांस्कृतिकरुपमा समेत सबै पक्षको भावनालाई आत्मसाथ गरेकोमा हिन्दु धर्मावलम्बीले समेत उनको मुक्तकण्ठले प्रशंसा गरेकै हुन् ।

केपी ओलीको नेतृत्वमा सरकार चलिरहँदा मधेस र पहाडका जनतावीच मनमुटाव निकै बढेको थियो । त्यस्तो बेलामा पनि राष्ट्रपति भण्डारी तटस्थ रहन सफल भइन् । जनकपुरमा रामजानकी मन्दिरमा पूजा गर्न गएका बेला उनीमाथि अनुचित विरोध र दुर्वचनको प्रयास गरिए पनि राष्ट्रपति भण्डारीको छवि केपी ओलीको जस्तो ‘मधेस विरोधी’ बनेन । यसलाई राष्ट्रपतिको सकारात्मक भूमिकाका रुपमा लिनैपर्छ ।

कतिपय मधेसी नेताले समेत भन्ने गरेका छन् कि संविधान बन्नेबेलामा पनि विद्या भण्डारी मधेसको मामिलामा एमालेका अन्य नेताभन्दा अलिकति फरक र उदार देखिएकी थिइन् । यसले गर्दा मधेसी नेताहरु भण्डारीप्रति नरम देखिँदै आएका हुन् ।

दुई वर्षको यो अवधिमा मधेसी समुदायसँगको राष्ट्रपतिको सम्बन्ध सुखद नै रह्यो । पछिल्लो समय मधेसी वरसँग आफ्नी छोरीको वैवाहिक सम्बन्धका कारणले उनको भावनात्मक सम्बन्ध मधेससँग अझै जोडियो । मधेसको मामिलामा केपी ओलीको भन्दा विद्या भण्डारीको सोचाइ र व्यवहार केही भिन्न रह्यो, जसले राष्ट्रपतिलाई ‘एमालेकरण’ बाट जोगायो ।

राष्ट्रपतिको यहाँसम्मको भूमिकालाई लिएर अहिलेसम्म मधेसकेन्दि्रत नेताहरुले मात्रै होइन, कांग्रेसकै नेताहरुले पनि कुनै गुनासो गरेको सुनिएको थिएन । स्थानीय चुनावताका एमाले नेताको विरोधका बावजुत मन्त्रीहरुको सपथ गराएकोमा कांग्रेस नेताहरुले ‘राष्ट्रपति एमालेबाट नउचालिएको’ भन्दै मुक्तकण्ठले प्रशंसा गरेकै थिए ।

यी सबै परिवेशका कारण राष्ट्रपति विद्यादेवी भण्डारीको दुई वर्षे कार्यकाल साखै विवादास्पद रहेन । ‘खासै’ यसअर्थमा कि शीतलनिवासमा मिडियालाई सहज पहुँच नदिने र सुरक्षा संवेदनशीलताका नाममा सेना र कर्मचारीको घेराबन्दी हुनेजस्ता गुनासाहरु रामवरणका पालामा भन्दा यसपालि बढी नै सुनिए ।

लोभले लाभ, लाभले विलाप !

भनिन्छ, मान्छेमा जतिबेलासम्म लोभलालच र वासना हुँदैन, त्यसबेलासम्म ऊ दैवी गुणहरुले भरपूर हुन थाल्छ । राष्ट्रपति भण्डारीमा पनि लोभलालच गर्नुपर्ने अवस्था केही थिएन ।

तर, पछिल्लो समयमा आएर राष्ट्रपतिले खेलेको भूमिकाले उनलाई ‘पुनः मुसिको भवः’ भनेजस्तै राष्ट्राध्यक्षको गरिमाबाट पुनः एमाले नेताकै स्तरमा झरेको आरोप लागेको छ ।

यसको एउट कारण हो- फेरि पनि राष्ट्रपति बन्ने लोभ । अनि, यही लोभका कारण उनले आफ्नो लाभ-हानी हेरेर गरेको काम ।

दसैंताका एमाले र माओवादीवीच पार्टी एकता गराउन राष्ट्रपति भण्डारीले आफ्नै सक्रियतामा गराएका गुप्त बैठकहरुले उनलाई ‘राष्ट्रपति’को भन्दा बढी ‘वाम नेता’ को भूमिकामा संकुचन गरेको छ । र, राष्ट्रपतिको भूमिकाबाट उनको अधोयात्रा पनि यहीँबाट सुरु भएको हो ।

पछिल्लो समयमा राष्ट्रियसभासम्बन्धी अध्यादेश स्वीकृत गर्न राष्ट्रपति भण्डारीले अन्कनाएर संसदीय मान्यतालाई चुनौती दिनुमा पनि उनीभित्रको ‘वाम अवतार’ र पुनः राष्ट्रपति बन्ने लालसाले काम गरेको प्रष्टै देखिन्छ । उनले एमाले नेताहरुको इच्छाअनुसार नै अध्यादेश रोकेर राखेको ‘डोकाले छोपेजस्तै’ कसैबाट छिपेको छैन । यसको भित्र कारण उही हो- एमाले नेतालाई खुशी पार्नु र दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति पद सुनिश्चित गर्नु ।

गम्भीर संवैधानिक प्रश्न

सरकारले पठाएको अध्यादेश स्वीकृत नगर्ने राष्ट्रपति भण्डारीको कदमले संसदीय मूल्यमान्यतामाथि एउटा गम्भीर संवैधानिक प्रश्न उठाएको छ ।

आगामी दिनमा विद्यादेवी भण्डारी पुनः राष्ट्रपति भइन् र सरकारले कुनै जरुरी अध्यादेश जारी गर्नुपर्ने अवस्था आयो भने त्यसमा विपक्षी (कांग्रेस) ले असहमति जनाउँदा जनाउँदै उनले स्वीकृत गर्छिन् कि गर्दिनन् ? के त्यस्तो अध्यादेशमा उनले अन्य दलको परामर्श लिने काम गर्छिन् ? त्योबेला उनले ‘कांग्रेसले सहमति नजनाएसम्म अध्यादेश पारित गर्दिनँ’ भन्छिन् ?

संक्रमणकाल सकिएकाले अब राष्ट्रपतिले ‘राजनीतिक सहमति’का आधारमा होइन, संविधानका आधारमा चल्नुपर्छ । संविधानले राष्ट्रपतिलाई ‘रबर स्टाम्प’ को भूमिकामा राखेको छ । मन्त्रिपरिषदले पठाएको अध्यादेश संवैधानिक छैन भने त्यसमाथि अदालतले व्याख्या गर्छ । संविधानअनुसार राष्ट्रपतिको भूमिका भनेको ‘राजनीतिक सहमति’ खोज्दै सर्वदलीय बैठक गर्ने होइन ।

तर, अहिले राष्ट्रपतिले बनाएको गलत नजिरले के स्थापित गर्ने प्रयास गरेको छ भने भोलि विपक्षी दलले असहमति जनाउँदासम्म सरकारले पठाएका कुनै पनि अध्यादेशहरु राष्ट्रपतिले पारित गर्न मिल्दैन ।

के यो नजिर संसदीय मूल्य र मान्यताअनुरुप छ ? यदि छैन भने राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालको अन्त्यमा गरेको यो एउटा असाधारण संवैधानिक त्रुटी हो । र, राष्ट्रपतिले यस्तो संवैधानिक त्रुटी गर्नुको एउटै कारण हो- राष्ट्राध्यक्षमा देखिएको एमालेकरण अनि पुनः शीतलनिवासको सिंहासनमा बस्ने लोभ ।

यदि भोलि पनि दोहोर्‍याएर विद्यादेवी भण्डारी नै राष्ट्रपति बनिन् र एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बने भने ? कामना गरौं-राष्ट्रपतिको भूमिका संवैधानिक एवं राष्ट्राध्यक्षकै रुपमा रहोस् ।

राष्ट्रपतिमा झलनाथको पनि दाबी

स्रोतहरुका अनुसार भावी राष्ट्रपतिका रुपमा वाम गठबन्धनभित्र दुईजनाको नाम चर्चामा छन् । एउटा विद्यादेवी भण्डारी र अर्को झलनाथ खनाल ।

वाम एकताका लागि छलफल चल्दै गर्दा झलनाथ खनालले राष्ट्रपतिमा आफ्नो दावी देखाएको नेताहरु बताउँछन् । तर, भण्डारीले पनि थप एक कार्यकाल राष्ट्रपति हुने ईच्छा गरेकाले अहिलेसम्म खनाल र भण्डारी दुई जनै राष्ट्रपतिका दाबेदार रहेको नेताहरुको भनाइ छ ।

तर, एमालेले पाँचवर्ष प्रधानमन्त्री चलाउँदा माओवादीले राष्ट्रपतिचाहिँ आफूले माग्न सक्ने अवस्थासमेत रहेको माओवादी नेताहरुको तर्क छ । यही आधारमा कतिपयले रामबहादुर थापा बादललाई समेत राष्ट्रपतिका रुपमा ‘प्रोजेक्ट’ गर्न थालेका छन् ।

संसदमा वाम गठबन्धनकै बहुमत रहेका कारण जो राष्ट्रपति बने पनि वाम गठबन्धनबाटै बन्ने निश्चित छ । र, एमालेबाटै प्रधानमन्त्री र राष्ट्रपति दुबै छानिएको अवस्थामा शीतलनिवास र सिंहदरबारको लय मिल्ने सम्भावना पनि उत्तिकै प्रवल छ । यसले शक्ति सन्तुलन र शक्ति पृथक्कीकरणलाई पनि प्रभाव पार्ने अहिलेको अध्यादेश विवादले छताछुल्ल पारिदिएको छ ।

Facebook Comments

लोकप्रिय

माघ देखि नागरिता काम नलाग्ने पुरा पढ्नुहोस

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित…

अब कतारमा नेपाली कामदार मालामाल हुने, कृपया सक्दो शेयर गर्नुहोस् ताकी सबै नेपालीले देखुन

‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’नेपालमा तीन ठाउँमा सहजीकरण कार्यालय स्थापना गर्न अनुरोध गरेका…

विमानस्थलमा बिदेसबाट फर्केका नेपालिको लगेज चोर्ने तथा तस्करीको सुन बटुल्दै गरेका एकजना कर्मचारी पक्राउ ! परेपछि हङ्गामा !

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा कतारबाट आएका यात्रुसँग सुन संकलन गर्न लागेका एक व्यक्ति…

देउवालाई अकस्मात भारतबाट फोन: आयो यस्तो आदेश-मान्लान त देउवाले ?

काठमाडौं – वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह…
%d bloggers like this: